RJ Rahul Yadav विराटनगर, वैशाख २१ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलबीच गठबन्धन भएको बताउनुभएको छ।
‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्नुभयो।
सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो।
अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उहाँले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राख्नुभयो।
उहाँले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताउनुभयो।
प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिनुभयो। स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेस मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गर्नुभयो।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।