Posts Grid

March 12, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटको वनबाट काठ दाउराको ओसारपसार सम्बन्धित निकाय मौन

जितेन्द्र कुमार यादब // मंसिर १९ गते,

रौतहटको वनबाट साँझदेखि राति सम्म साइकल र मोटरसाइकलमा पनि काठ र दाउरा चार–पाँच फिटसम्म लामो,मोटो,पातलो सबै किसिमको काममा लाग्न सकिने काठ तथा दाउराको ओसारपसार निरन्तर भइरहँदा

 

सम्बन्धित निकाय मौन बसेको छ। गस्तीको नाउँमा एक दुई पटक सवारी साधनमा हिँडेको जस्तो गर्ने तर तस्करहरुले दाउराको नाउँमा काठ नै ओसारिरहँदा रोक्ने छेक्ने तथा सोधखोज गर्ने कोही पनि नदेखिँदा काठको तस्करी नियन्त्रण भन्दा बाहिर गएको देखिएको हो।

 

जङ्गल क्षेत्रका अधिकांश गाउँको यही अवस्था रहेको छ। अबेर साँझ र बिहान पनि जंगलबाट बाहिर निस्कने करिब सबै बाटोमा काठ र दाउरा ओसार्नेको निर्वाध लस्करले सम्बन्धित निकायको असफलतालाई दर्शाइरहेको हुन्छ।

केही हप्ता पहिले कटहरिया नगरपालिका १ मा तीन ओटा साइकलमा चार थान सालको गोलिया प्रहरीले बरामद गरेको थियो। कटहरियाको कुनै पनि वडा रौतहटको वनसित जोडिएको छैन। कटहरियासम्म वनको काठ आइपुग्दा सम्बन्धित निकायले भेउसम्म नपाउनु आफैँमा आश्चर्य रहेको छ। गस्तीमा रहेको प्रहरीलाई देखेपछि साइकलका काठ तस्करहरु फरार भएका थिए।

 

कटहरियामा काठ बरामद भएको समय नै सब डिभिजन वन कार्यालय जंगलसैयाले पाँच वटा साइकलमा तीन थान काँचो सालको गोलिया बरामद गरेको थियो। जंगलमा पसेर रुख काटेर तस्करहरुको समूह साइकलमा लोड गरी काठ लैजान लागेको अवस्थामा बरामद हुँदा वन कार्यालयले साइकल र काठ समातेको बतायो तर तस्कर फरार भयो।

काठ र साइकल जहिले पनि बरामद हुने तर तस्कर सधैँ फरार हुने गरेको अवस्थाले पनि तस्करीमा कुनै कमी आउन नसकेको स्थानीयको भनाइ छ। तजबिजमा काठ तस्कर भगाउने काम भइरहेको नाम नबताउने शर्तमा जंगलसैयाका एक युवक आरोप लगाउँछन्। उनी भन्छन्, ‘सबै कुरा सेटिङमा हुन्छ।

रौतहटको चन्द्रनिगाहपुर, बृन्दावनको बलेरी, गुजराको चोचा लगायतको वनक्षेत्रबाट व्यापक मात्रामा काठ तथा दाउराको तस्करी हुने गरेको छ। जिल्ला वन कार्यालयले तस्करीको साइकल समातेर ल्याएको संख्याले पनि यही साबित गर्दछ। गत केही महिनामा डिभिजन वन कार्यालयले दर्जनौँ साइकल यिनै ठाउँबाट बरामद गरेको छ।

गस्तीको नाममा झारा टार्ने काम भइरहेकोले रौतहटको वनक्षेत्र पूर्णतया असुरक्षित देखिएको छ।

दैनिक सयौँ साइकल र मोटरसाइकलमा काठ तथा दाउराको नाउँमा पनि काँचो काठ वन क्षेत्रबाट बाहिरिने गरेको छ। साइकल र मोटरसाइकलमा हुने काठको तस्करीले वन क्षेत्र पातलिँदै गएको देखिएको छ।

रौतहटको क्षेत्र नम्बर ३ को अधिकांश घरमा तत्कालीन सांसद प्रभु साहको पहलमा एलपि ग्याँसको सिलिन्डर चुल्होसहित सम्पूर्ण सामग्री वितरण गरिसकिएको छ। अधिकांश घरमा ग्याँसमा खाना पाक्नुपर्ने अवस्थाको सिर्जना भइसकेको सन्दर्भका पनि दाउराको नाममा काठको तस्करी हुनु दुर्भाग्य भएको स्थानीयको भनाइ रहेको छ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख अमरदेव यादवले साइकलमा काठ तस्करी नियन्त्रण टाउको दुखाइ बनिसकेको बताएका छन्। जतिसुकै कडाइ गरे पनि साइकलमा काठको तस्करी नियन्त्रणमा आउन नसकेको निमित्त प्रमुख यादवको भनाइ छ। पछिल्लो दुई वर्षमा सालको गोलिया लोड गरेर जंगलबाट काठ ओसार्दै गरेको अवस्थामा झन्डै पाँच सय ओटा साइकल बरामद गरिसकेको यादवको दाबी छ।

वन कर्मचारीको नियत ठिक भएमा धेरै हदसम्म काठ तस्करी नियन्त्रणमा आउने स्थानीयको भनाइ रहेको छ। एक समय अत्यधिक सक्रिय हुने र फेरि सुस्ताएपछि काठ तस्करहरु सक्रिय हुने गरेको प्रवृत्ति देखिएको छ। जंगलबाट दाउरा पनि बाहिर जान दिन रोक लगाउने हो भने दाउराको नाममा हुने काठ तस्करी केही नियन्त्रणमा आउने पनि स्थानीयको भनाइ रहेको छ।

You may have missed