रौतहट मिडिया // मंसिर १२ गते,
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।
६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।
ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो । ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।
आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ ।नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।
चलेन ब्याटिङ
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो । नेपालको लागि इन्दु बर्माले १५ र सीता राना मगरले १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउनसमेत सकेनन् । सीताले ३ तथा इन्दु र काजलले १/१ चौका प्रहार गरेका थिए ।
लगातार ओपनिङ जोडीमा परिवर्तन गरिरहेको नेपालले युएईविरुद्ध इन्दु बर्मा र कविता कुँवरलाई ओपनिङ गराएको थियो । नेपालको इनिङ्स सुरुवात गर्दै आएका सीता राना मगर र काजल श्रेष्ठले क्रमश : चौथो र छैटौं नम्बरमा ब्याटिङ गरेका थिए ।
नेपाललाई अलआउट गर्न युएईका समाइरा धर्नीखर्कले ४ ओभरमा ५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिइन् । यस्तै खुशी शर्मा र चामानी सेनेभिरत्नले २-२ विकेट लिए ।
त्यसअघि चामानीकै अर्धशतकमा युएईले १२७ रनको स्कोर बनाएको थियो । चामानीले ३६ बल खेल्दै ७ चौका प्रहार गरेर सर्वाधिक ५२ रन बनाएकी थिइन् । यस्तै थिर्था सतिसले ४७ र काभिस एगोडेजले २२ रन जोडे ।
नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगिता राईले १-१ विकेट लिए ।
More Stories
द स्ट्यानफोर्ड एकेडेमीद्वारा गढीमाई नगरपालिका वडा स्तरीय नकआउट टुर्नामेन्ट उद्घाटन समारोह सम्पन्न!
वडा प्रीमियर लिगको फाईनल खेल आज बसन्तपट्टीको जित
बाल-युवा शिक्षा तथा खेलकुदमा अग्रणी भूमिका खेलीहेको द रिडर्स इन्टरनेसनल स्कूल