जितेन्द्र कुमार यादव // मंसिर ०८ गते रौतहट
रौतहट जिल्लाका कृषकले यस वर्ष पनि खाँडसरी उद्योगलाई नै उखु विक्री गर्न थालेका छन् ।
जिल्लामा रहेका दुई ओटा चिनी मिलमध्ये गरुड श्री राम सुगर मिल बन्द भईसकेको छ भने डुमरियामा बाबा बैजुनाथ चिनी मिल सञ्चालनको तयारीमा छ । तर कृषकले लगाएको उखु विक्री गर्ने समय भई सक्दा समेत उद्योग सञ्चालनको टुङ्गो नै नभएपछि खाँडसरीमा उखु दिएका हुन् । गत वर्ष प्रति क्विन्टल ५०० रुपैयाँ भन्दा बढी उखुको मूल्य तोकेको भएपनि हाल खाँडसरीमा उक्त मूल्य नपाएको कृषकहरुले बताएका छन् ।
सखर बनाउने खाँडसरी उद्योगले प्रति क्विन्टल ३०० रुपैयाँमा उखु लिन थालेको उखु कृषक रविन्द्र सहनीले बताए । अन्य खेती लगाउने समय भइसकेकाले बाध्य भएर कृषकहरुले उखु धमाधम खाँडसरी उद्योगमा विक्री गर्न थालेका हुन् ।
एउटा चिनी मिल बन्द भयो, अर्को कहिले खुल्ने टुङ्गो नै छैन, त्यसैले कृषकले खाँडसरीमा उखु विक्री गर्नूपर्ने बाध्यता छ, सहनीले भने ।
यस क्षेत्रमा तोरी, गहुँ, मुसुरो र अन्य बाली लगाउने बेला भइसकेको छ । चिनी मिलको बाटो हेर्दा अन्य बाली लगाउन नपाउने र उखु पनि सुक्ने हुँदा खाँडसरीमा उखु विक्री गर्नु परेको गढीमाई गाउँपालिका वडा नं.२मा बस्ने समनपुरका किसान रुदल सहनीले बताए ।
अहिले जिल्लामा २४ भन्दा बढिको संख्यामा खाँडसरी उद्योग सञ्चालनमा छन् । चिनी मिलले समयमा नै भुक्तानी नदिने गरेकाले तुरुन्त भुक्तानी लिनका लागि खाँडसरीमा उखु दिनु परेको स्थानीयहरुको भनाई छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।