rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

खेसरीलालले भने- डेढ करोड क्षति भयो, महोत्सव आयोजकले क्षतिपूर्ति दिनुपर्छ

रौतहट मिडिया न्यूज डेस्क // माघ ०५ गते

सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको छ । कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिए ।

आफू बसेको विराटनगरको होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशासनले अनुमति रद्द गरेको विषयमा आयोजकले आफूलाई कुनै जानकारी नदिएको गुनासो गरे । साथै, हिजोको घटनामा आफ्नो डेढ करोडको क्षति भएको दावी गर्दै उनले आयोजकले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

 

यादवले भने, ‘यो घटनामा जनताको दोष छैन, न त प्रशासनको न मेरो दोष छ । दोषि भनेका आयोजक हुन् । उनीहरुले मलाई नै गुमराहमा राखे ।’ उनले घटनामा आफ्नो टोलीका सदस्यहरु घाइते भएको र चारवटा स्करपिओ जलेको बताए ।

 

यस विषयमा आयोजकले क्षतिपूर्ति दिनुपर्ने भन्दै उनले यसका लागि प्रशासनको सहयोग लिने बताएका छन् । यादवका अनुसार उनलाई महोत्सवमा आयोजकले टिकट बेचेकोसमेत जानकारी थिएन । आफू दर्शकलाई मनोरञ्जन दिलाउन आएको तर नपाउँदा दुख लागेको उनले बताए ।

गत २३ पुसदेखि सुरु भएको महोत्सवको अन्तिम दिन हिजो यादव आउने भनेर आयोजकले टिकट बेचेका थिए । दुई दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीका कारण भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्न आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै यादवलाई निम्त्याए । यादवलाई आयोजकले पैसा अग्रीम भुक्तानी गरिसकेको थियो ।

कार्यक्रम रद्द गर्न आदेश दिइएको बारे आफूलाई जानकारी नगराइएको भन्दै यादवले रोष व्यक्त गरेका हुन् । ‘यदि मलाई बताइएको भए लाइभमा आएर दर्शकसामू क्षमा माग्दै आउन नसक्ने जानकारी गराउने थिएँ,’ यादवले भनेका छन् ।

 

कार्यक्रमका लागि आयोजक र यादवबीच गत १६ जनवरीमा मात्रै सम्झौता भएको थियो । दुई दिनअघि आयोजकलाई आफूले भिडियो पठाएको यादवले बताएका छन् । त्यतिबेलासम्म प्रशासनको आदेश आइसकेको भए पनि आफूलाई नभनिएको उनको भनाइ छ ।

‘आदेश आइसक्दा पनि आयोजकले टिकट बेचिरहेका रहेछन्, मलाई थाहै थिएन,’ उनले भने । यादव हिजो ११ बजे महोत्सवमा उपस्थित हुने भनिएको थियो । उनी बिहान ७ बजे आफ्नो टोलीसहित नेपाल प्रवेश गरेका थिए ।

आयोजकका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए । बिहान ९ बजे उनलाई बिराटनगरको एउटा होटलमा पुर्‍याइएको थियो । १० बजे उनी कार्यक्रममा जाने तयारी गर्दै गर्दा प्रहरीले होटलमा घेरा हालेर उनलाई जान रोकेको थियो ।

कार्यक्रम रद्द गर्न आदेश भएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव रोकिएका थिए । तर, उनका टोलीका मानिसहरु वाद्य सामग्रीसहित कार्यक्रम स्थलमा पुगिसकेका थिए । यादव नआउने सूचना आएसँगै दर्शकहरु आक्रोशित भएर ढुंगामुढा र आगजनी गरेपनि प्रहरीको उपस्थिति देखिएको थिएन ।