Posts Grid

March 11, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

प्रदेश २ मा विश्वविद्यालय सम्बन्धी दुई वटा अध्यादेश सिफारिस

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मंगलबार सम्पन्न भएको बैठकले प्रदेश २ को वीरगन्जमा वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।

कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगन्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । यसै गरी प्रदेश सरकारले ग्रिनसिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगन्जमा सरसफाइ , बिजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरिएको मन्त्री साहले बताए ।

प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहीन काम गरी रहेको पाइएमा त्यस्ता ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचीमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको उनले जनाए ।

You may have missed