rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

विवाह पञ्चमीको तयारी विवाह पञ्चमी महोत्सव मनाइने

हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ ।

 

प्रत्येक वर्ष झै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो । महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् । मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । मन्दिर प्राङ्गणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मुलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताउनुभयो । विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ । अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ ।