सुनिल रजक काठमाडौं साउन २६ गते।
ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजिनीति गर्नुछ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड’ गत जेठ १६ गते प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कार्यक्रममा भनेका थिए।
त्यो दिन उनको पार्टी मुख्यालयमा उनका सल्लाहकार समिति र जेष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठक थियो। त्यसलाई सम्बोधन गर्ने क्रममा उनले गौर हत्याकाण्डको पनि कुरा उठाएका थिए।
र, भनेका थिए, ‘ती घटनाहरूमा के भएको हो भन्ने कुराको सत्यतथ्य केही आएको छैन। यी सबै कुराहरू लगेर अब जनतामा नयाँ विश्वास जगाउनुछ।’
नभन्दै त्यसको दुई महिनापछि उनले गौर हत्याकाण्डको फाइल खोले।
प्रचण्डलाई थाहा थियो, त्यो फाइलभित्र को छ?
चाल पाइसकेका थिए उनले त्यहाँ उपेन्द्र यादवको नाम छ।
सरकारमा मात्रै होइन, कम्युनिस्ट एकताको ‘ड्रिम प्रोजेक्ट’, समाजवादी मोर्चासम्मै पनि सँगै बोकेर लगेका उनका सहयात्री हुन्, यादव।
यो सब प्रचण्डलाई थाहा थियो।
र, पनि उनले ‘गौर हत्याकाण्डका पीडित’हरूसँग सहमति गरेर १७ वर्षपछि फेरि यादवहरूलाई तर्साए।
सिधा र सरल कुरा छ, यादव पक्राउ त पर्छन्। किनकि यो प्रधानमन्त्री प्रचण्ड आफैले खोलेको फाइल हो।
यादव त्यसमा दोषी हुने वा नहुने कुरा दोस्रो हो।
किन यस्तो गर्दैछन् प्रचण्ड?
उनकै भाषामा यो, प्रचण्ड जीवनको ‘लास्ट इनिङ’ हो।
जीवनका करिब ५० वर्षहरू राजनीतिको यात्रामा दगुरिरहेका प्रचण्ड आफैले भनिरहेका छन्, यो उनको वास्तविक जीवनको उत्तरार्द्ध हो।
र, अब जीवनको सुरक्षित अवरतण गर्नका लागि उनी यतिबेला आकष्मिक ‘रन-वे’ निर्माणको क्रममा छन्।
ओराली झर्दैझर्दै गइरहेको पार्टीबाट उनी आफूमात्रै एक्लै माथिमाथि उक्लिरहेका छन्, आउनेजतिलाई साथ लाएर।
संसदीय राजनीतिक यात्राका दौरान हराउँदै गएको माओवादीको ‘साख’ जोगाउन प्रचण्डलाई कम्ता चुनौतीहरू छैनन्।
पार्टीभित्र चरम असन्तुष्टी छ। संसदीय राजनीतिको सुरुवाती पाइलामा भेटिएका जनताको साथ अब हराइसकेको छ। माओवादी अनि प्रचण्ड आफै आफ्नै मूलबाटोबाट हराइरहेका छन्।
प्रचण्डले के गर्यो? भन्ने भन्दा पनि ‘केही गरेन’ भन्नेहरू धेरै छन्। उनकै कार्यकर्ताहरू छन्। उनकै सहयात्री अनि सहयोद्धाहरू असन्तुष्ट छन्। उनकै जनयुद्धमा ज्यान अर्पेका ‘लालसेना’हरू छन्। घाइते अनि अपाङ्ग भएकाहरू छन्। ‘सहिद’ले छोडेका परिवार छन्।
यी सबलाई प्रचण्डले अब जवाफ दिनुछ।
त्यसैले उनी यो सब गरिरहेछन्।
नक्कली भुटानी शरणार्थीको मुद्दा होस् वा सय किलो सुनका काण्डहरू।
प्रचण्डले आँखा चिम्लिरहेका छन्, जहाँ उनका सत्तायात्राका सहयात्री दलका मान्छेहरू पनि छन्। हरेक पाइला पाइलामा बिझाइरहने प्रतिपक्ष दलका आफ्नै मान्छेहरू पनि छन्।
त्यहाँ उनका जनयुद्धकालीन आफ्नै सहयात्रीहरू पनि छन्। प्रचण्ड जीवनका सबैभन्दा विश्वासिला पात्रहरू पनि छन्।
त्यसैको एक परिणाम हुन्- उपेन्द्र यादव पनि।
नत्र, माइतीघरमा महिनौदेखि धर्ना दिएर बसिरहेका ‘न्याय माग्ने’हरूको कमी त प्रचण्डले पक्कै देखेका थिएनन्।
जब कि माइतीघरको त्यही हुलमा मिसिन आएका ‘गौर हत्याकाण्ड पीडित’हरूलाई उनले क्षणभरमै सिंहदरबार भित्र्याएर एकपन्ने सहमति गरे।
सहमतिको पहिलो बुँदामै थिए, उपेन्द्र यादव।
त्यसमा भनिएको थियो ‘गौर हत्याकाण्डको मुद्दा जहाँनेर रोकिएको हो त्यही विन्दुबाट अनुसन्धान सुरु गरेर दोषीहरूलाई कानुनी दायरामा ल्याउने।’
भावनाको आँधीमा प्रचण्डले मोलेको यो सबैभन्दा ठूलो जोखिम हो।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।